काठमाण्डौ — नेपालमा दर्ता नगरी सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सरकारी निर्देशन कार्यान्वयनमा आएसँगै, प्रमुख सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ती प्लेटफर्महरूमा पहुँच अवरुद्ध गर्न थालेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त निर्देशन अनुसार टेलिकमले यस्ता प्लेटफर्महरूलाई हाललाई निष्क्रिय बनाएको जनाएको छ। सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद् तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार गरिएको यो कदमसँगै, फेसबुक, यूट्यूब, म्यासेन्जर, ह्वाट्सएपजस्ता चर्चित सामाजिक सञ्जालहरूमा पहुँच अवरुद्ध हुन थालेको छ।
यसै क्रममा इन्टरनेट सेवा प्रदायकहरूको सङ्गठन ‘आइस्पान’ले पनि निषेधित सूचीअनुसार आवश्यक प्राविधिक तयारी अघि बढाएको छ। सरकारको सात दिने अल्टिमेटम समाप्त भएपछिको कारबाहीका रूपमा यो कदम चालिएको हो।
यसअघि नेपालमा सूचीकृत हुनेहरूमा टिकटक, भाइबर, पोपो लाइभजस्ता थोरै सामाजिक सञ्जाल मात्र परेका थिए। अब प्रयोगकर्ताहरू वैकल्पिक प्लेटफर्मतर्फ सर्न थालेका छन् भने, सरकारको यो निर्णयप्रति सामाजिक क्षेत्रमा आलोचना पनि चुलिएको छ।






