धुलिखेल नगरपालिकाले नागरिकहरूसँग प्रत्यक्ष संवादका लागि आधुनिक एआई (कृत्रिम बुद्धिमत्ता) टेलिफोनी सेवा ‘टिङ टिङ’ सार्वजनिक रूपमा सञ्चालनमा ल्याएको छ। नेपाली भाषामा काम गर्ने यो प्रणालीमार्फत अब नगरवासीहरूले कर, जन्मदर्ता, स्वास्थ्य शिविरजस्ता सूचनाहरू आफ्नै मोबाइलमा फोनमार्फत सुन्न पाउनेछन्।
नगरपालिकाका अनुसार ‘टिङ टिङ’ ले हजारौं नागरिकलाई एकैपटक उनीहरूको नामै लिएर स्वचालित कल गर्नेछ, जसले सूचना प्राप्तिको पहुँचलाई सबैका लागि सरल र समावेशी बनाउने अपेक्षा गरिएको छ।
मेयर अशोककुमार ब्यान्जु श्रेष्ठले भने, “डिजिटल प्रविधि केवल ठूलो शहरका लागि मात्र होइन, स्थानीय तहमा पनि यसको आवश्यकता उत्तिकै छ। हामीले ‘टिङ टिङ’ प्रणालीमार्फत सेवा वितरणमा पारदर्शिता र पहुँच विस्तार गर्न नयाँ कदम चालेका हौं।”
यो कदमले धुलिखेललाई प्रविधिमैत्री स्थानीय सरकारको नमूना बनाएको छ भने देशभरका अन्य पालिकाहरूलाई पनि नागरिकसँगको सम्बन्ध सुधार गर्न प्रविधिको उपयोग गर्न प्रेरणा दिने विश्वास गरिएको छ।






