PEMA LAMA

मनसुनको सक्रियता र सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा एक महिनासम्म रोक लगाइएको छ। काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सीमासम्म बेलुकी ६:३० बजेपछि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने निर्णय काभ्रे जिल्ला प्रशासन कार्यालयले गरेको हो।

यस निर्णयअनुसार रातभर करिब १० घण्टा यातायात पूर्णरूपमा बन्द रहनेछ। बाढी र पहिरोका कारण अघिल्लो वर्ष ठूलो क्षति व्यहोरेको यो राजमार्ग हालसमेत जोखिमपूर्ण अवस्थामा रहेकोले सतर्कता अपनाइएको जनाइएको छ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले काठमाण्डौबाट पूर्वतर्फ जानेलाई काभ्रेभञ्ज्याङमा र पूर्वबाट काठमाण्डौ फर्कन चाहनेलाई नेपालथोकमै रोकिने व्यवस्था गरिएको जानकारी दिए। केही हप्ता अघि लागू गरिएको अस्थायी रोकलाई थप एक महिना लम्ब्याइएको हो।

राजमार्ग सुधारको लागि चार वटा खण्डमा निर्माण प्रक्रिया अगाडि बढाइएको बताइएको छ। दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने यो मार्ग पूर्वी नेपाल र राजधानी काठमाडौँ जोड्ने प्रमुख नाका हो।