काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य फेरि समायोजन गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँको वृद्धि गरिएको छ। संशोधित मूल्यहरू जेठ १७ गते राति १२ बजेदेखि लागू भएका हुन्। मूल्यवृद्धि क्षेत्रअनुसार फरक–फरक रूपमा लागू गरिएको छ। पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रहरूमा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल १४० रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ र डिजेल तथा मट्टीतेल १४२ रुपैयाँमा पुगेका छन्। तेस्रो वर्गमा पर्ने काठमाडौँ, पोखरा र दिपायलमा भने पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १४३ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ।

यता, हवाई इन्धनको मूल्यमा भने केही राहत दिइएको छ। आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ। निगमका अनुसार समायोजन गरिएको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य तथा ढुवानी खर्चका आधारमा गरिएको हो।