क्यानडाको पश्चिमी क्षेत्रमा फैलिएको डढेलोले व्यापक विनाश मच्चाउँदै विभिन्न प्रान्तहरूमा अनियन्त्रित रूपमा फैलिएको छ। सुरूमा मनिटोबा राज्यको १४ स्थानमा मात्र देखिएको डढेलो अहिले देशभर १६६ भन्दा बढी स्थानमा फैलिएको क्यानाडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरले जनाएको छ।

डढेलोको तीव्रता र जोखिमका कारण मनिटोबामा १७ हजारभन्दा बढी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ भने सो प्रान्तमा आपतकालीन अवस्था घोषणा गरिएको छ। अहिलेसम्म ८४ स्थानको आगो नियन्त्रणबाहिर गएको बताइएको छ।

विनिपेग शहरमा यसअघि भएको डढेलोमा दुई जनाको ज्यान गएको पुष्टि गरिएको छ। मेदेखि सेप्टेम्बरसम्मलाई डढेलोको उच्च जोखिमयुक्त समय मानिने क्यानडामा, यस वर्षको प्रारम्भमै संकटको रुप लिएको देखिएको छ।