इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबारको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्समाथि ६ विकेटको सहज जित हात पारेको छ। दिल्लीको अरुण जैट्ली स्टेडियममा खेलेको खेलमा चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७ ओभर १ बलमै चार विकेटको क्षतिमा भेट्टायो। राजस्थानका वैभव सूर्यवंशीले आक्रामक ५७ रन बनाए भने कप्तान सञ्जु सामसनले ४१ रनको योगदान दिए। बलिङतर्फ चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। आयुष महात्रे र डेवाल्ड ब्रेभिसले क्रमशः ४३ र ४२ रन जोडे। राजस्थानका आकाश मधवाल र युद्धवीर सिंहले समान ३–३ विकेट लिए। दुवै टिम प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिइसकेका छन्। राजस्थान तालिकामा नवौं र चेन्नई पुछारमा रहेको छ। आजको खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन्।






