लखनउ सुपर जायन्ट्सको आईपीएल २०२५ को यात्रा हैदराबादसँगको निर्णायक खेलमा अन्त्य भएको छ। एकाना स्टेडियममा सनराइजर्स हैदराबादले ६ विकेटको सहज जित निकाल्दै लखनउको प्लेअफ सम्भावनामा पूर्णविराम लगाइदिएको हो।
पहिले ब्याटिङ गर्दै लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०५ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। तर जवाफी इनिङमा हैदराबादले १८.२ ओभरमै लक्ष्य पुरा गर्दै सिजनको प्रभावशाली प्रदर्शन गरे।
लखनउले कुल १२ खेलमा १० अंक मात्र जोड्न सकेको छ, जसका कारण प्लेअफको ढोका बन्द भएको हो। प्लेअफ दौडमा अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स कायम छन्। यसअघि नै गुजरात टाइटन्स, राेयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन्।
हैदराबादका लागि यो खेल सम्मानजनक विदाई सावित भयो, किनभने उनीहरू यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेका थिए।






