इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत हिजो सम्पन्न दुई खेलमा गुजरात टाइटन्स र पन्जाब किङ्ग्स विजयी भएका छन्। दुवै टोलीले शानदार जितसँगै प्लेअफमा स्थान सुरक्षित गरेका छन्।
गुजरातले दिल्ली क्यापिटल्सलाई एकदमै सहज रूपमा १० विकेटले हरायो। दिल्लीले दिएको २०० रनको विशाल लक्ष्य गुजरातले १९ ओभरमै कुनै विकेट नगुमाई पुरा गर्यो। शुभमन गिलले आक्रामक ब्याटिङ गर्दै अविजित १०८ रन बनाए भने साइ सुदर्शनले ९३ रनको योगदान दिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। केएल राहुलले आकर्षक ११२ रन बनाए भने अभिषेक पोरेलले ३० रन जोडे।
बलिङतर्फ गुजरातका अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १–१ विकेट लिए। यस जितपछि गुजरातले १८ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा प्रवेश पाएको छ।
हिजोकै पहिलो खेलमा पन्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई १० रनले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले ५ विकेट गुमाएर २१९ रन बनायो। नेहाल वादेराले ७० र सशांक सिंहले ५९ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा राजस्थान २० ओभरमा ७ विकेट गुमाएर २०९ रनमै रोकियो। यशस्वी जैसवालले ५० र वैभव सूर्यवंशीले ४० रन बनाए।
पन्जाबका हर्पित ब्रारले ३ विकेट लिए भने ओम्रजाइ र जानसेनले समान २–२ विकेट लिए। जितसँगै पन्जाबले १७ अंक जोड्दै लिगको तेस्रो स्थानमा छलाङ मारेको छ। राजस्थान भने यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ, यो उसको यो सिजनको दशौं हार हो।






