हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा लेदो मिसिएको डरलाग्दो पहिरो आएपछि गाउँ उच्च जोखिममा परेको छ। पछिल्लो बिहीवार र शुक्रवार परेको वर्षासँगै आएको पहिरोले त्यहाँका १८ घर प्रत्यक्ष खतामा परेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार, ती घरमा बसोबास गर्दै आएका ३२ जना स्थानीय अहिले सुरक्षित स्थानमा त्रिपालमुनी आश्रय लिएर बसेका छन्।

स्थानीय बासिन्दाहरूले माथिल्लो भागको हिमताल फूटेपछि लेदोसहितको पहिरो आएको अनुमान गरे पनि यो तथ्य हालसम्म पुष्टि हुन बाँकी छ। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, पहिरो बस्तीको छेउसम्म पुगेपछि गाउँ नै उच्च जोखिममा परेको हो। पहिरोले स्थानीय जलविद्युत आयोजनाको संरचना, खानेपानीको पाइपलाइन, कुलो र गाउँ जाने बाटोसमेत बगाएको छ।

चार दिन अघि नै पहिरोको संकेत देखिए पनि हिमताल फूटेको यथार्थ हिजो मात्र खुलेको बताउँदै वडाध्यक्ष तामाङले आफूहरूसहितको टोलीले लामो समय हिँडेर घटनास्थलको अवलोकन गरेको जानकारी दिनुभयो।

उक्त हिमताल ५,३०० मिटर उचाइमा अवस्थित छ। सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएका थिए तर उचाइजन्य स्वास्थ्य समस्या देखिएपछि उनीहरू बाटोमै फर्किन बाध्य भएको पाण्डेयले बताए। यद्यपि, पहिरोले क्षति पुर्‍याएको तिलगाउँमा उद्धार टोली पुगेर तत्कालीन राहत र सहयोग कार्य गरिरहेको उनले जानकारी दिएका छन्।