काठमाण्डौ – काठमाण्डौको बौद्धस्थित हायात ग्राउन्ड शनिबार साँझ बलिउड चमकले झलमलायो, जब भारतीय कलाकार नोरा फतेहीले नेपाली कलाकारहरूसँग मञ्च बाँड्दै धमाकेदार प्रस्तुति दिइन्। दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा, प्राेसेस पाण्डे लगायतका कलाकारहरूको साथले साँझलाई अझै रंगीन बनायो।

‘ह्युमन रेस्पेक्ट नेपाल’द्वारा शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आयोजना गरिएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा नोराले चर्चित बलिउड गीतहरूमा आफ्नो टोलीसँगै नृत्य गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाइन्। उनी युएईबाट नेपाल आएकी हुन् भने उनका अन्य २३ जना नृत्य सहकर्मी दुई दिनअघि नै काठमाडौँ आइपुगेका थिए।