स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग–२ शृङ्खलाको तयारीस्वरूप बेलायत पुगेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सन्तोषजनक प्रदर्शन गर्दै न्यू पोर्ट क्रिकेट क्लबमाथि तीन विकेटको जित निकालेको छ। कार्डिफमा सम्पन्न खेलमा २१३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाउँदै ३८ औं ओभरमै लक्ष्य पार गर्‍याे।

गुलशन झा (८० रन) र आरिफ शेख (७२ अविजित) बीचको शतकीय साझेदारी नेपालका लागि निर्णायक रह्यो। दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए पनि नेपालले सुरुआतमा ५६ रनमै ६ विकेट गुमाउँदै दबाबमा परेको थियो। न्यू पोर्टले टस जितेर पहिले ब्याट गर्दै दुई सय १२ रन बनाएको थियो।

खेलमा नियमित कप्तान रोहित पौडेल सहभागी थिएनन्। लिग–२ शृङ्खला जुन २ देखि १० सम्म स्कटल्याण्डमा हुनेछ, जहाँ नेपाल, आयोजक स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।