१९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग ४–० को ठूलो गोलअन्तरले हार बेहोरेको छ। दुबै टिम पहिले नै सेमिफाइनलमा पुगिसकेका थिए, तर हिजो भएको भिडन्तमा आयोजक भारतले दबदबा जमाउँदै सहज जित निकालेको हो।
यस जितसँगै भारत समूह ‘बी’ को विजेता बनेको छ भने नेपाल उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको सुरुआती खेलमा भारतले श्रीलङ्कालाई ८–० ले हराएको थियो भने नेपालले त्यही टिममाथि ५–० को जित निकालेको थियो।
अब सेमिफाइनलमा भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग भिड्नेछ भने नेपाल समूह ‘ए’ विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सन् २०१५ को पहिलो संस्करण र २०१७ को यू–१८ संस्करण जितेको भए पनि पछिल्लो पटक फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो।






