अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणको अवसरमा अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सहमति भएको छ। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार यो सम्झौता दुई देशबीचको सैन्य इतिहासमा अहिलेसम्मकै ठूलो हो।
राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) को उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौताले साउदीले अमेरिकी रक्षा उद्योगहरूबाट अत्याधुनिक हतियार, हवाई सुरक्षा प्रणाली, सीमा सुरक्षासम्बन्धी प्रविधि र सैन्य आधुनिकीकरणका अन्य सामग्रीहरू खरिद गर्नेछ।
यसै सम्झौतामा उर्जा, खनिज, स्वास्थ्य र सूचना प्रविधिको क्षेत्रमा समेत आपसी सहकार्य विस्तार गर्ने सहमति भएको छ। साथै, साउदीले अमेरिकामा विविध क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
राष्ट्रपति ट्रम्प चारदिने पश्चिम एशिया भ्रमणका क्रममा साउदीको राजधानी रियादमा उत्रिनु भएको हो।






