भारत–पाकिस्तान युद्धविरामको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै पाकिस्तानमाथि कडा आरोप लगाएका छन्। उनले पाकिस्तानलाई ‘आतङ्कवादको सुरक्षित आश्रयस्थल’ भन्दै चेतावनी दिएका छन् कि आणविक हतियारको आडमा भइरहेको ब्ल्याकमेल भारतले अब सहन सक्दैन।
प्रधानमन्त्री मोदीका अनुसार भारतको जवाफी कारबाहीमा १०० भन्दा बढी आतङ्ककारी मारिएका छन् र पाकिस्तानकै अनुरोधमा युद्धविराममा भारत सहमत भएको हो। यद्यपि, उनले परिस्थिति बिग्रिए थप कारबाही गर्न पछि नपर्ने चेतावनी पनि दिएका छन्।
बुद्ध पूर्णिमाको प्रसङ्ग उठाउँदै मोदीले मानवता र शान्तिको बाटो नै दीगो समृद्धिको आधार हो भनेका छन्। जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणपछि भारतले सुरू गरेको ‘अपरेशन सिन्दूर’ पछि उत्पन्न तनाव शनिबारको युद्धविरामपछि केही घटेको देखिएको छ। अब बन्द विमानस्थलहरू सञ्चालनमा आएसँगै जनजीवन सामान्य बन्दै गएको छ।






