नेपालको महिला क्रिकेट टोलीले आज २०२६ मा हुने महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत आफ्नो अभियान सुरु गर्दैछ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान पौने ९ बजे नेपालले हङकङविरुद्ध खेल्दै छनोट यात्रा आरम्भ गर्न लागेको हो।

यस प्रतियोगितामा आयोजक थाइल्यान्डसहित कुल ९ राष्ट्र सहभागी छन्। नेपाल समूह ‘सी’ मा बहराइन र हङकङसँग परेको छ, भने अन्य दुई समूह ‘ए’ र ‘बी’ मा भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया, कतार र यूएई छन्।

प्रत्येक समूहका टोलीहरूले दोहोरो राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्नेछन्। समूहको विजेता सुपर थ्रीमा पुग्नेछ र त्यहाँका शीर्ष दुई टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

हङकङविरुद्धको अघिल्ला पाँच भिडन्तमा नेपालले दुई जित हात पार्दा, हङकङले पनि दुई पटक बाजी मारेको छ भने एक खेल वर्षाले रद्द भएको थियो।