भारत र पाकिस्तानबीचको द्वन्द्व फेरि गहिरिएको छ, जब पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलमार्फत भारतका सीमावर्ती क्षेत्रहरूमा आक्रमण गर्यो। जम्मू–कश्मीर, पन्जाब र राजस्थानका प्रमुख ठाउँहरू लक्षित आक्रमणमा परेका छन्। भारतीय सुरक्षा संयन्त्रले एस–४०० एअर डिफेन्स प्रणाली प्रयोग गरेर सम्भावित विनाशलाई टार्न सफल भएको दाबी गरिरहेको छ।
ड्रोन आक्रमण विशेष गरी जम्मू विमानस्थल र पठानकोटस्थित भारतीय वायु सेनाको स्टेसनतिर लक्षित भएको जनाइएको छ। त्यस्तै, आरएसपुरा सेक्टर नजिकै सीमामा गोलीबारी जारी रहेको रिपोर्ट छ। कुपवाडा र बारामुल्ला नजिकै पनि गोलाबारीको घटनाहरू देखिएको भारतीय सैन्य स्रोतको भनाइ छ।
जम्मू शहरमा विस्फोटको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टि गरेका छन्, यद्यपि क्षतिको विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन। सुरक्षा संवेदनशीलता बढेसँगै जम्मू–कश्मीर, पन्जाब, राजस्थान र गुजरातका केही जिल्लामा आकस्मिक विद्युत आपूर्ति बन्द गरिएको छ।
यो घटनाक्रम भारतीय सेनाले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’ नामको रणनीतिक कारबाही थालेपछि सुरु भएको हो। उक्त अपरेशन २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणको जवाफस्वरूप सञ्चालन गरिएको थियो।






