इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स कमजोर अवस्थामा रहेको चेन्नई सुपर किङ्ग्ससँग २ विकेटले पराजित भएको छ।
१ सय ८० रनको चुनौती चेन्नईले १९.४ ओभरमै ८ विकेटको क्षतिमा पूरा गर्दै अप्रत्याशित जित निकालेको हो। डेवाल्ड ब्रेभिसले आक्रामक ५२ रन जोड्दा शिवम दुबेले ४५ रनको योगदान दिए।
कोलकाताका बलर वैभव अरोराले ३ विकेट लिए पनि चेन्नईको ब्याटिङ रोक्न सकेनन्। यसअघि टस जितेर ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर १७९ रन बनाएको थियो। कप्तान अजिन्के राहानेले ४८ रन, रसल र मनिष पाण्डेले समान ३६ रनको योगदान दिएका थिए। चेन्नईका नुर अहमद उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिन सफल भए।
यो हारसँगै ११ अङ्कसहित कोलकाता लिगको छैटौं स्थानमा पुगेको छ भने प्लेअफ प्रवेशका लागि उसलाई अब अन्य टिमको नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ।
चेन्नईले भने ६ अङ्कसहित सिजनको तेस्रो जित निकाल्दै आत्मसम्मान बचाएको छ, यद्यपि प्लेअफको दौडबाट ऊ पहिल्यै बाहिरिसकेको छ।
आजको खेलमा पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन्।






