भारतले ‘अपरेशन सिन्दूर’ को नाममा गएराति पाकिस्तानमा लक्षित हवाई कारबाही गरेको छ, जसमा दुई बालबालिकासहित ७ जनाको ज्यान गएको पुष्टि भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार, कारबाहीमा पाकिस्तानको नौवटा स्थानमा रहेका आतङ्कवादी शिविरहरूलाई निशाना बनाइएको थियो।

भारतीय सेनाले भने यो कारबाही पाकिस्तानी सेनाका संरचनालाई लक्षित नगरी केवल आतङ्कवादी समूहहरू विरुद्ध गरिएको दाबी गरेको छ। यस हवाई आक्रमणसँगै क्षेत्रीय तनाव झनै चर्किने संकेत देखिएको छ।

यस कारबाहीको पृष्ठभूमिमा, अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमण छ, जसमा एक नेपाली नागरिकसहित २६ जना पर्यटकको ज्यान गएको थियो। सो घटनाको अनुसन्धान भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) मार्फत भइरहेको छ।

भारत र पाकिस्तानबीचको सम्बन्ध झनै बिग्रिँदै जाँदा, कश्मीरको दीर्घकालीन विवाद पुनः अन्तर्राष्ट्रिय चासोको केन्द्रमा आएको छ। भारत–प्रशासित कश्मीरमा लामो समयदेखि चलिरहेको हिंसात्मक विद्रोहले हजारौं नागरिक र सुरक्षाकर्मीको ज्यान लिइसकेको छ।

यस आक्रमणबारे भारतले अमेरिका, बेलायत, साउदी अरेबिया, यूएई र रुसलाई पहिले नै जानकारी दिएको बताइएको छ। आक्रमणपछिको सुरक्षा सतर्कता तथा सैन्य परिचालनका कारण उत्तरी भारतमा हवाई उडानहरूमा प्रभाव परेको छ।