काठमाडौं – चालु आर्थिक वर्ष मा ६ सय ६१ जना उद्यमीले स्टार्टअप अनुदान स्वरूप कर्जा प्राप्त गर्ने पक्का भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले देशभरिबाट प्राप्त भएका हजारौं आवेदनमध्ये छनोट प्रक्रियाबाट ६६१ वटा परियोजनालाई प्राथमिकता दिएको हो।
कुल ५ हजार १५८ जना आवेदकमध्ये १ हजार ३१४ उद्यमीले प्रत्यक्षरूपमा परियोजना प्रस्तुति गरेका थिए। तीमध्ये प्रभावकारी योजना पेश गर्ने ६६१ जना उद्यमीलाई कर्जाको लागि अगाडि सारिएको हो।
छनोटमा परेका उद्यमीले अब ४५ दिनभित्र सम्बन्धित बैंक शाखामा सम्पर्क गर्नुपर्नेछ। कुन उद्यमी कुन बैंकको कुन शाखामा पुग्ने भन्ने विस्तृत विवरण आगामी बिहीवार सार्वजनिक गरिने प्रतिष्ठानको सूचनामा उल्लेख छ।
बैंकमा कर्जा प्रक्रिया सुरु गर्न उद्यमीले व्यवसाय दर्ता प्रमाणपत्र, प्यान र भ्याट दर्ता, नागरिकता, कर चुक्ता प्रमाणपत्र, पासपोर्ट साइज फोटो, व्यवसायको छाप, भाडामा सञ्चालन भए सम्झौतापत्र तथा अन्य आवश्यक कागजातहरू प्रस्तुत गर्नुपर्नेछ।
यो योजनाअन्तर्गत कम्तीमा ५ लाखदेखि बढीमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराइनेछ, जसले नयाँ व्यवसायहरूलाई आर्थिक मजबूती दिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।






