अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूबीचको आपसी सहकार्य र रणनीतिक साझेदारीलाई सुदृढ पार्ने उद्देश्यले आगामी मे महिनामा साउदी अरबको राजधानी रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का प्रमुख नेताहरूसँग उच्चस्तरीय बैठक गर्ने तयारी गरेका छन्। साउदी अधिकारीहरूका अनुसार मे १३ देखि १६ सम्मको उक्त भ्रमणमा ट्रम्पले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स भ्रमण गर्नेछन्। यो भ्रमण उनको दोस्रो कार्यकालको पहिलो अन्तर्राष्ट्रिय कूटनीतिक कदमको रूपमा हेरिएको छ। बैठकमार्फत क्षेत्रीय सुरक्षा, व्यापारिक सम्बन्ध र ऊर्जा सहकार्यमा केन्द्रीत छलफल हुने अपेक्षा गरिएको छ। अमेरिकी सरकारले हालै साउदीसँग ३.५ अर्ब डलर बराबरको मिसाइल सम्झौता स्वीकृत गरेको पृष्ठभूमिमा यो भ्रमणलाई थप रणनीतिक महत्व दिइएको छ।