काठमाण्डौ – शिक्षकमाथिको आन्दोलनले रोकिएको कक्षा १२ को परीक्षा आजबाट औपचारिक रूपमा शुरु भएको छ। प्रारम्भिक तालिका अनुसार वैशाख ११ गते हुने भनिएको परीक्षा १० दिनपछि सारिएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर एक हजार पाँच सय ९१ परीक्षा केन्द्रमार्फत पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन्। आज पहिलो दिन नियमिततर्फका विद्यार्थीहरू अनिवार्य अंग्रेजी विषयको परीक्षामा सहभागी भइरहेका छन्।

बोर्डले परीक्षा सुरक्षाका लागि कडा नियम लागू गरेको छ— परीक्षा हलमा मोबाइल, स्मार्ट घडी वा अन्य इलेक्ट्रोनिक उपकरण निषेध गरिएको छ। नियम उल्लंघन गर्ने परीक्षार्थीको परीक्षा रद्द हुने र कानूनी कारबाहीसमेत हुने बोर्डले स्पष्ट पारेको छ।