काठमाण्डौ – लामो समयदेखि आफ्ना पेशागत माग राख्दै आन्दोलनरत आवासीय चिकित्सकहरू अब पुनः अस्पतालमा फर्किएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ, र आवासीय चिकित्सक प्रतिनिधिबीचको गहिरो छलफलपछि तीन महत्त्वपूर्ण बुँदामा सहमति जुटेको हो। सहमति अनुसार चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन, म्याचिङ प्रक्रिया तुरुन्त थालनी गर्ने निर्देशन, र बिदासम्बन्धी विषयमा कार्यदल गठन गरिने भएको छ। मन्त्री पौडेलले मन्त्रालय चिकित्सकहरूको जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए। संघका अनुसार अब अधिकांश चिकित्सक पुनः कार्यस्थलमा फर्किसकेका छन् र निजी मेडिकल कलेजहरूले समेत आठौँ तह सरह भत्ता दिने प्रतिवद्धता जनाएका छन्।






