काठमाडौं – देशको पूर्वी र मध्य भागमा रहेका पहाडी क्षेत्रहरूमा आज हल्का वर्षा हुने संकेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ।

मौसमविद् गोविन्द झाले पछिल्लो १२ घण्टामा कोशी, बागमती, कर्णाली र गण्डकीका केही स्थानहरूमा हल्का वर्षा भएको जानकारी दिनुभयो।

आज दिनभर ती प्रदेशका पहाडी भू–भाग र केही एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रि–मनसूनको समय भएकाले मौसम पूर्ण रूपमा खुलेको नदेखिए पनि अत्यधिक वर्षाको सम्भावना भने नरहेको स्पष्ट गरिएको छ।

भारतको झारखण्ड, आशाम जस्ता क्षेत्रहरूबाट आएको मौसमी प्रणालीको प्रभावले हाल नेपालमा पानी पर्ने प्रणाली सक्रिय रहेको जनाइएको छ। मौसममा भने अब क्रमशः सुधार हुँदै जाने संकेत देखिएको छ। काठमाण्डौ उपत्यकामा आज वर्षा नहुने प्रक्षेपण गरिएको छ।