सुडानको डार्फर क्षेत्र फेरि हिंसाको चपेटामा परेको छ, जहाँ अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (RSF) र नियमित सेनाबीचको पछिल्लो झडपमा कम्तीमा ५७ जना नागरिकले ज्यान गुमाएका छन्। अल–फासेर शहरलाई नियन्त्रणमा लिन आरएसएफले गरेको सशस्त्र हमला र भीषण गोलाबारीका कारण सर्वसाधारणहरू मृत्युको शिकार बनेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

संयुक्त राष्ट्रसंघका तथ्याङ्कले देखाउँछ कि केही दिनअघिमात्रै एल–फासेर र वरपरका विस्थापन शिविरहरूमा भएको हिंसाले ४ सयभन्दा बढी नागरिकको ज्यान लिएको थियो। सन् २०२३ देखि चलिरहेको सेनारआरएसएफबीचको संघर्षले सुडानमा नागरिकहरूको जीवनलाई भयावह बनाएको छ।

आरएसएफले सेनाको कब्जामा रहेका डार्फर क्षेत्रका शहरहरू घेर्न वर्षौं प्रयास गर्दै आएको छ भने राजधानी खार्तुम सेनाले पुनः कब्जा गरेपछि, डार्फरमा हिंसात्मक कारबाही थप तीव्र बनेको छ। यस युद्धले अहिलेसम्म लाखौंको जीवनमा अन्धकार छरेको छ—करिब १३ मिलियन मानिस विस्थापित भइसकेका छन्।