नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री ओलीको टर्की समकक्षीसँग संवाद

 

प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग टेलिफोन वार्ता गर्दै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि विशेष पहल गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रपति एर्दोआनले नेपाली विद्यार्थीको अवस्थालाई गम्भीर रूपमा लिँदै आवश्यक कूटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि, ओलीले इजिप्टका राष्ट्रपतिसँग पनि जोशीको रिहाइका लागि सहयोगको अनुरोध गरेका थिए।

दुई नेताबीचको संवादमा कूटनीतिक सहकार्य विस्तार, आर्थिक सम्बन्ध सुदृढीकरण, तथा विज्ञान तथा प्रविधिमा संयुक्त लगानीबारे पनि छलफल भएको जनाइएको छ। साथै, राष्ट्रपति एर्दोआनले आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिक सम्मेलनमा प्रधानमन्त्री ओलीलाई सहभागी हुन औपचारिक निमन्त्रणासमेत दिएका छन्।