आइतबार शेयरबजारमा उछाल आएको छ । मौद्रिक नीति आएपछि पहिलो कारोबार भएको दिन बजारमापक परिसूचक नेप्से ११३.४२ अंकले बढेर २६८१.८१ को बिन्दुमा पुगेको छ । मौर्दिक नीतिले बैंकिङ क्षेत्रलाई प्रोत्साहन गरेको प्रभाव आइतबार शेयरबजारमा देखियो ।
आइतबार बजार खुलेको एक मिनेटमै पहिलो सर्किट लागेको थियो । आधा घण्टा रोकिएर फेरि सुरु भएको बजारमा दोस्रोपटक पनि सर्किट लाग्यो । एकै दिन दुईपटक अपर सर्किट लागेको बजार उतारचढावका बीच तेस्रो अंकको वृद्धिमा रोकियो ।
आइतबार बैंक तथा वित्त, बीमा, निर्जीवन बीमा, लगानी, होटल तथा पर्यटन, निर्माणलगायतका उपसमूहमा उल्लेख्य वृद्धि भएको छ । तर, लघिु बित्त भने घटेको छ ।
बजार उल्लेख्य रूपमा बढे पनि ८७ वटा कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आइतबार घटेको छ । आइतबार ११ वटा बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार विभिन्न कम्पनीका ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँबराबरको कारोबार भएको छ ।






