इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।
शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको बताए । ‘उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हाजिरी जमानीमा छाडिएको हो । निजलाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी छोराको जिम्मा लगाई छाडिएको छ,’ सहन्यायाधिवक्ता श्रेष्ठले भने ।
स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।






