रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत टनेलभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि विशेष अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको छ।

११ सदस्यीय भारतीय टोली (चिकित्सा तथा टनेल उद्धार विशेषज्ञसहित) नेपाल आइसकेको छ। नेपालले चीन, अस्ट्रेलिया र दक्षिण कोरियाबाट टनेल उद्धार, डीएनए परीक्षण तथा फोरेन्सिक पहिचानका लागि विशेष सहयोग स्वीकृत गरेको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ टनेल उद्धार टोली आइरहेको छ। विदेशी विशेषज्ञहरूले नेपाली सुरक्षा तथा उद्धार टोलीलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

खराब मौसम र कठिन पहुँचका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। अहिलेको प्राथमिकता टनेलभित्र फसेका वा सम्पर्कविहीन व्यक्तिहरूसम्म सुरक्षित रूपमा पुग्नु रहेको छ।