काठमाडौं, भदौ २८ — नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्की नियुक्त भएसँगै देशले परिवर्तनको नयाँ अध्यायमा पाइला टेकेको छ। पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।
संविधानले राष्ट्रपतिलाई दिएको विशेष अधिकार प्रयोग गर्दै कार्कीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो। आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु कार्की सरकारको प्रमुख कार्यभार हो। ‘जेनजी’ पुस्ताको आवाजलाई समेट्दै बनेको यस सरकारलाई देशले ठूलो आशाका साथ हेरिरहेको छ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले भने, “धेरै धेरै बधाई छ, तपाईं सफल हुनुहोस्, देश सफल होस्।” कार्कीले संविधानको धारा ८० अनुसार पद तथा गोपनियताको शपथ लिएकी हुन्। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपाका सांसद सुमना श्रेष्ठ लगायत विभिन्न देशका कूटनीतिज्ञ तथा जेनजी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






